Wednesday, August 25, 2010

कविता

खगेन्द्र पन्धाक लिम्बू

धरान, नेपाल
हाल: थाईल्याण्ड



कृष्णभिषारिका सम्बोधन !


कृष्णाभिसारिका !
अब,
मलाई
रातमा नभेट्नू l


अँधेरीसंग
पारपाचुके गरें l
............हो,
सम्बन्ध बिच्छेद गरें l
............................गरें l



रात
चोरहरुको हो l
मलाई
टन्टलापुर घाममा
उज्यालो माया खोल्नू l
हामी,
रातसँग नमिल्ने भयौं l


पत्रिया...
मेरी प्रेयसी होइनन l
प्रेयसी...
पत्रिया...हुन सक्दिनन l

रात,
छँदै छैन l
कमार्तन सकियो l
डोकेसो भोग्न
युग मान्दैन l
बोक्सीको आरोपमा
लिंगभेदी अरिष्ट
कलुषीका जाल होलान !
चेतनाको
अर्गेली खोलेर
उज्यालोमा हेर्नूं
आफ्नै,
जीवन घाम हो l
घाम,
आफ्नै जीवन हो l

अनुशयना
आफुलाई नसम्झिनू l
अर्थात्
सम्झिनू l

रात भत्कियो l
कपिन्जल हुनु पर्दैन l
स्वतन्त्रताको कल्लेली
बग्छ -
हो, साँच्ची बग्छ -
कोशी के बगोस त्यसरी ?


प्रगल्भा हौ l
प्रगल्भा तिमी नै हौ l


अब,
लिगलगा छैन l

रात=दिन
तिमी= म

विषाक्त शेषशायी
पुरुष नायकीवाद
सुमुखीले
मेरो पुरुषार्थ
हत्या गरेर
आज
हैकमवादको
अन्त्य गर्नू l

पोते-चुरा तोडेर
बुर्का हटाएर
लालिमा मै
खुलस्त हेर्छु l
निस्पट अँधेरोसंग
उछ्वांसमा
कुमारी बैंस नसाट्नू l
लिंगहीन सम्भोगले
जिन्दगी जन्माउनू l
घामसंग
कौमार्यको बियाडमा
सनातन बिऊ छर्नू l


ऊह मात्र
हुँदै होइन l
झूमक आकाश रच्ने
त्रैकालिकका मालिक
मेरी
प्रेयसी l


युग दृष्टजा !
आगो हुनू l
भूतिभूषणहरुले
अझै पनि
नसी देख्दो हुन् !
देउकी-देउचेली
मान्दिन-नमान l

समलिंगी
युग जन्माउन
सतित्वहीन संसर्ग
अब,
दिन-दहाडै
प्रकाशसँग साट्नू l
उजेलोसंग लेनदेन गर्नू l

तिमी=पृथ्वी



सम्बोधन गर्छु-
कृष्णाभिसारिका !
अब,
मलाई
रातमा नभेट्नू l

प्रेम उज्यालो l
उज्यालो प्रेम l

No comments:

Post a Comment