Wednesday, April 14, 2010

कविता

आधी-आकाशको गीत


तिम्रो मुस्कान
धर्म शास्त्रको
अध्यायभित्र,
थोरै....
अझै कैद छंदैछ l

सोकेसभित्रको नारी खुशी !!!

एक पाईलाअघि
बढेर उचालिएका
गोडाहरु,,,,,
सामाजको
अन्धो संस्कारले
अझै अल्झाएकै छन l

स्वतन्त्रभित्रको बन्दी सन्सार !!!

पतिभक्ति,
ब्रतमा उपासिएर
गोडा धुएको पानीले
पाप-मोक्ष गर्दापनि
अझै,,,
कानुनले
तिम्रो अधिकार
किताबको पानाभित्रै
सिउरेर राख्दैछ l

कानुनले सेपिएको नारी स्वतन्त्र !!!


बंसज नखुलेको
तिम्रो सन्तानको
वैयक्तिक अधिकार
अदालतको ठेलीले
अझै थिचेको छ l

अन्धो कानुनको मानव आधिकार !!!

अन्धकार च्यासलभित्र
धिपधिपे बत्ती हेर्ने
तिम्रो आँखाहरुमा
अझै,,,
धार्मिक अश्रुग्यांसहरु
छरीदैछन l

धर्मनिरपेक्षको कालो पट्टी !!!

विश्वतिर फर्किएर
नारी इतिहास हेर्ने,
तिम्रो आँखामा,
गान्धारी पट्टी
बाँधीएकै छ l
किनकि.
यो जगको
तिम्रो धृतराष्ट्र
स्वयं;
अझै अन्धो छ l

चेतनाको पर्दाभित्रै पुरुष आँखा !!!


नारी तिमी !
अश्मिता
जोगाउन मात्र होइन,
अब
यो धर्ति जगाउनु पर्छ,
निदाएकालाई मात्र
होइन,,,,,,,
धर्मको च्यादरले
लपेटिएका,,,,
अर्धचेतनको बिषले
लट्ठीएका,,,,,,,
सबै नारीहरुलाई
झकझकाउनु पर्छ l

बिहानीको शङ्ख उत्घोष !!!

तिम्रो जवानी
लिलाम गरेर,
चौकोस भित्र
सजाउने
त्यो,
शास्त्र माथी
तिमीले
पाईला टेक्नै पर्छ,
चेतनाको मसाल बालेर
जलाउने पर्छ l

अधिकारको नौ किल्ला बोध !!!

धर्ती र आकाशको
स्वरूप होइन,
अब
नारी.....
धर्ती चिर्ने चट्यांग
अनि,
आकाश छिचोल्ने
मिसाईल बन्नु पर्छ l

संसार उचाल्ने नारी हुंकार !!!





सम्पूर्ण नारीहरु प्रतिको हक र आधिकारको लागि समर्पित !!!




8th March 2010

No comments:

Post a Comment