Tuesday, January 26, 2010

कविता

घामको चाहा

पुषको महिना भए पनि
घामको ताप मिठो छ,
घाम र पानीको अनुपन स्वाद लिन
हप्ता भरिका थकाइका भारी बिसाएर
मेरा लागि बिरन्तरी मान्छेको हूल
मृतसागरको चिसो पानीमा डुबुल्की मार्दै,
एकआपसमा प्रेम साटासाट गरिरहेको दृश्यले
म खिन्न भएर टोलाउदै बस्छु......
सोच्छु, मेरो मातृभूमिमा मात्र
किन टुक्रा टुक्रा बादलका झुप्पाहरू
घाम उदाउने क्षितिजमा छरिएर
सूर्यकिरणलाई छेक्दैछन् ?
बल्ल बल्ल निस्केको लालीमालाई
पात झरेका सिक्रे रुखको छेलले
मेरो आँगनमा घाम लाग्दैन /
चिसो सिकुवामा कठंग्रिनुको पिडाले
लखेटिएको म, यो भूमध्यको अनकन्टारमा
न्यानो पहार ताप्दैछु, क्षणिक आनन्द,,
समुद्रको पानीले कल्पनाको प्यास मेट्दैछु
टुक्रे बादलहरु फाटेर खुला आकाश भई दिए
जहाँबाट पनि मेरो सगरमाथा देखिन्थ्यो/
यतिखेर विश्वशिखरको चुचुरो
उहि बादलले छेकेको छ,
देखिन्छ तर धमिलो आकृतिमा..........
समुद्री तटको एक कुनामा घोरिदैछु,
लाग्छ, यस्तै पहारिलो घामको राप
मेरो चौकोस र बार्दली सम्म भए
बिस्तारै घरभित्र न्यानो हुन्थ्यो होला/
यस्तै रापिलो पहार पाए फुटेकै गमलाका
सबै फूल फुल्थे होलान,,,,,,!
न्यानो नपाएरै कति फूलहरुमा
परागसेचन नभई थाती रहेका छन्
कत्ति फूलहरु फोटोसेन्थेसिस हुन नसकेर
रुखिएर मरे, कति पात झरेर नयाँ
पलाउन सकिरहेका छैनन्,,
आगोको रापले जसरी बिरुवा मर्छ,
त्यसको ठिक बिपरित...
सूर्यको ताप नपाउदा पनि त बिरुवा मर्छ/
त्यसैले यो बेला मेरो धर्तिमा,,,,,,,,,
आगोको रापले कयौं सालका पालुवाहरु मरिरहेका छन्,
घामको ताप नपाएर उत्तिकै फूलका कोपिलाहरु झरिरहेका छन्/


०९/०१/२०१०
तेल-अविव, (मृतसागर किनार ) इजरायल

No comments:

Post a Comment