Tuesday, January 26, 2010

कविता

घण्टाघर भित्रको पर्खाई


आजकल म समय चक्रको
घडीमा नियाल्दै पर्खिरहेको छु/
त्यो प्रहरलाई, जहाँ भालेको डाक संगै
बस्तीहरुमा सुर्योदय होस्,
जहाँ मिर्मिरेसंगै सबैको चुलोमा
बिहान एकसाथ आगो बलोस्,
प्रत्येकको भोको पेटले अन्नको अनुभव गरोस्,
प्रत्येकको आङले एकै चोटी पहार तापोस्,
अनि एकै स्वरमा मान्छेको हूलहरु
हर्षको मुहार बोकेर खुशिको बिगुल फुक्दै
उल्लाषको रयालीमा ओर्लियोस,,,,

प्रत्येक सेकेण्ड काँटाको आवाजमा
म यहि सुन्न खोजिरहेकोछु/
एकै स्वरमा भनियोस्,
अब हरेकको दिमागी खोपा भित्र
चेतनाको अविछिन्न मशाल बल्यो,
बस्ती बस्तीमा उज्यालो भयो,,,,
सबैको आशाका फुलहरुमा सिंचन हुन थाल्यो,
हिजोका घाउहरु सुम्सुम्याएर होइन
मुक्तिको सासले बिना खत निको हुन थाल्यो,,,,,

प्रत्येक मिनेट काँटाको आवाजमा
म यहि सुन्न खोजिरहेकोछु/
एकै स्वरमा भनियोस्,
अब सबैको रगतमा समान बेगमा मेची,काली बग्यो,
अब बम र बारुद एक एक मान्छेको दिमागमा धवस्त गरियो,
बितिक्ष्णाका तिरहरु मनको इन्सिरेटरमा जलाईयो
सोचको अहंकारी घोडालाई जिउदै फाँसी चढाईयो/
असमान विमर्शका साँघुहरु भत्काएर
समान बिचारका पुलहररु हालियो,,,,,,,

प्रत्येक घण्टा काँटाको आवाजमा
म यहि सुन्न खोजिरहेछु,
कि एकै स्वरमा भनियोस्,
यो बस्तीमा अन्धकार हुदैन,
यो आकाश अब फाट्दैन किन कि
कालो ग्रहणले सूर्यलाई छोड्यो,,,,,,,
अब यो धर्तिमा चट्यांग पर्दैन, किन कि
अब बज्रहरुको ध्रुबिय पोल समान भै सक्यो//




१४ जनवरी २०१०
बिहिबार

No comments:

Post a Comment