Saturday, November 20, 2010

कविता

सिम्मा र सम्झना

धरोधर्म!
मैले तिम्रो रात सापटी लिएर..
खान्ग्रे भरी-भरीको तिम्रो माया
टेम्के डाँडाको उकालोमा ..
हैरानले छिचोलेको थिएँ ,
ए सिम्मौ !
कसम होला ..यो भीडमा पनि
तिम्रो मायाको सुगन्ध...
त्यै बूकिफूल र तितेपाती भएर
मगमगाई रहन्छ..
मेरो निस्वास भरी-भरी .!

तिम्रो चोलीको तूनाको कसम,
तिम्रो मुचुन्गाको धूनको कसम ..
उधौली उँभौलीको पूजामा ..छम-छम ...
ढोल-झ्याम्टासंग एक शय पांच शिली
तिम्रो प्राकृतिक नृत्यको सलाम..
सत्ते-सत्ते,
यो सागरबीचमा पनि
किन होला -
दुधकोशी,अरुण र तमोरको पानी तिर्खाएको म?
त्यो भन्दा पनि-
तल बाँस झ्यांग फेदीबाट
तिमीले घैंलो कम्मरमा राखेर
ल्याएको पानी सम्झिएर
यो बिशाल मरुभूमि
अहिले नै पिउँ-पिउँ झैं लाग्छ !

ए सिम्मौ !
तिम्रो माया
तिम्रो संझना
पारूहांग-सुम्निमा भएर ..
गढ़नु सम्म गढेको छ छाती भरी ..
यत्रो बर्ष, यत्रो साल पनि
..आम्मै !,
म त अझै माटो नै गन्हाउँदो रहेछु ..
खै बुइंपाको हो कि..हलेशी तीरको..
सिम्पानीको हो कि कटुन्जे तीरको..
के भा' हो कुन्नी!
यो महँगो पर्फ्यूममा पनि
छनुवाको सुन्गन्ध आ'छ !
आपुई!
म त तिम्रो डबका भरी-भरिको
उधारो माया पो सम्झेछु...
छपनिमा..छानी-छानी भरेको
तिम्रो एक सेर कटुवाको
सम्झना पो कल्पेछु !
कहिले कहीं,
तिमीले जिस्किएर हानेको
बाबरी फूलको चोट बल्झी रहन्छ एकान्तमा;
लूहौ!
तिम्रो ठट्यौले माया पो सम्झेछु

सिम्मौ!
मलाई त तिम्रो यादले
घाँसको भारी झैँ बाँधीछ्यौ
माथि देउरालीको पाती झैँ
अमर-अजर रंगिन मायाका ध्वजा-पत्ताले
भित्र-भित्र गजबले सिन्गारेछ्यौ
तिन तारा डाँडामा नबस्दै
तिम्रो नूनिलो आँशु ..कोशीमा मिसाएर
तिम्रो चन्चले आँखामा सावन रुझाएर..
मलाई तिम्रो पाप लाग्ला!
चिन्डोको निम्ठो भरी..भरी..
जतनले अझै तिम्रो माया
मेरो शिरानीमा सजाएको छु !
हो,
यत्ति भए यहीबाट..
मेरो टेम्के देखी रहन्छु
मेरो कोशी देखि रहन्छु ,
मेरो मायाको गाउँ देखि रहन्छु
मेरो परुहांग-सुम्निमा..
मेरो सिम्मालाई पाईरहन्छु ..


ए सिम्मौ !
तिम्रो कसम,
उधौली उँभौलीको कसम,
यो रिबुछे कान्छोलाई
तिम्रो साह्रै माया लागीरहन्छ
सत्ते-सत्ते,
.....तिमीलाई चण्डी नाच
मन परे भन्दा झुसी-झुसी....!!



खगेन्द्र पन्धाक लिम्बू
०२ नोवेम्बर २००९
धरान
हाल:बैंकक

No comments:

Post a Comment