Thursday, January 14, 2010

कविता

एउटा इच्छा.....!

पानीमा डुबुल्की मारेर निस्केका
बकुल्लाहरुको हूल जस्तै
बग्रेल्ती सेताम्मे घरहरु....
त्यही पङ्क्तिमा एउटा घरको
कोठाभित्र मेरो पूरै संसार छ,
जहाँ म मेरा चाहनाका क्यान्भासहरु
दिनै पिच्छे कोर्दै सूर्योदय र सूर्यास्तको
नियमितता त्यही बित्छ/
आकांक्षाका परिधि अनि
मनको गोलार्धको हिसाब मिलाउदै
जीवनको सप्ल्याटो पाटो सम्यांउन खोज्दैछु,
रगतका मेरा नाताहरु,
हजारौं माईल पर थन्क्याएर
अभावको बायुपंखी यानले उडाएर
पराईको मझेरीमा ओरालेको छ,
जहाँ म अहिले कर्मयोगी बन्दैछु/
म हरेक बिहान बेलुका
एउटा पराई शरीरलाई
भावनाको मीठो साइनोले
हरेक पल मनको तर्पण दिन्छु,
बिचरी उनकै लागि त म....
एउटी बृद्दको मुहारमा हेर्छु,
कलिलो पालुवा भदौरे घामले चाउरिएरको जस्तो अनुहार,
कलेटी परेको ओंठ,उनको आंखाको नानीमा
भोलिको आफ्नै प्रतिबिम्ब देख्छु ,
कता कता भित्र मन भारी हुन्छ....
सत्य हो ! मैले पनि
त्यही अवस्था सहर्ष स्वीकार्नु पर्छ,
तर त्यो आगावै भावी पुस्ताको लागि,
एउटा सानो भूगोल तयार गर्नु छ,
धेरै अप्ठ्यारा खाल्डोहरुलाई पुरेर
सम्म बनाउनु छ, जहाँ आफ्नो पनि
थोरै अस्तित्वको समाधि बनाउन सकूँ !
यस्तै तर्कनाहरुको सिरानी लगाएर
बिस्तारै रातको अध्यारो पलकसंगै
ओछ्यानमा बिसाउँछु, जिन्दगीलाई

1 comment:

  1. धेरै असल कार्यको थालनी मनु जी मलाई धेरै खुशी लाग्यो यसरी नै आफ्नो रचनालाई कैद गर्नु ब्लगगिङ दुनियाँमा स्वागतम!!!

    ReplyDelete