Wednesday, April 14, 2010

कविता

जिजिविषा मनको...

आफ्नै जिजिविषामा
कनिकुथीको खेती
गर्दै शिशिरको.....
बेहद हुस्सु चलेकै छ।
उता मेरो धर्तीमा
द्वन्दको
चिराग जल्दा,
विराग
अन्तर्मनको पाटोमा
लम्पसार रहेकै छ।

संयोग,
मनको ढोका
उघ्रियो,
जस्केलोमा....
उही मनको मैना
चर्दै पो रहेछ।
बिचरा !
पुरै जीवनको बसन्त,
आफ्नो दु:खको माला
रौँ रौँमा उनेर,,,,
पनि बेहद खुशीमा
बन्द आफ्ना सबै
छेस्किनी खोलेर रमाउदैछ ।

जीवनको
लहरी डांडामा
उक्लेर,,,,टुसुक्क,
मनको न्यानो भित्र
एक्लै राप ताप्दै,
मालबाँसको....
चोया काढेर,
म पनि,,.
लिम्ची फूल सजाउने
सपनाको डोको बुन्दैछु ।

मुना मदनको
खण्ड काव्य
मनको लाइब्रेरीमा
राखेर,,,,,
बिरानो शहरमा
प्रतिकुल कहर,
काट्दै,,,,,
स्पर्शको मन्दी भित्र
समयको पावन्दीमा
अनुराग नियाल्दै,
रोमियो जुलीएटको
प्रत्यक्ष सिनेमास्कोप हेर्दैछु।

सभ्यताको
चरम बिकासमा
उही मान्छे,
उही मन,
उही दुई जाती,
कस्तो फरक....?
मानव भित्रको प्रेम,
अनि,
समाजको दृष्टि,
संस्कृतिको सुचलन
सोच्छु,,,,,एक्लै,
ओहो !
म त ढुंगे युगबाट
भर्खर संसार
चिहाउदै रहेछु।

अब,
यस्तो लाग्दैछ,
मेरो,,,
निलो......
धरातलमा पनि,
पक्कै सभ्यताको,
सेतो रंग आफैले फेर्नु पर्छ !!!





लहरी डांडा= संखुवासभा जिल्लामा रहेको एक रमाइलो डांडा ।
लिम्ची फूल= (लिम्ची=मेरो जातिया भाषामा फूलको नाम) एक किसिमको बास्नादार बुट्ट्यान जसको पात महिनौ सम्म सुक्दैन।


१३ फाल्गुन २०१०
बिहिबार

गीत

पारिजातको फूलसंगै.......

पारिजातको फूलसंगै गीत झरेछ।।
मिरमिरेको तारासंगै प्रित झरेछ ।।

सोचेको'थें फूलसंगै,गीत फुलिरहोस।
चाहेको'थें लहरा मै, प्रित झुलिरहोस।
सोचे जस्तो नहुने यो,मानिसको चोला।
किन भई दियो होला, नफर्किने खोला ?


जिन्दगीको मध्य दिनमा शीत झरेछ।।
मुहार भरी खुशी बोक्ने रीत झरेछ ।।


आँशु-फूल फुल्यो यहाँ, एक्लै बिरानीमा।
भिज्यो गह जम्यो दह, सधैं सिरानीमा।
कहिले घाम कहिले छाँया,हुदैछ यो मन।
आधी चिसो आधी तातो,भै' रै'छ जीवन।।

पारिजातको फूलसंगै गीत झरेछ।।
हारीदिन्छु दु:ख भन्थें,जीत झरेछ।।




२७/११/२०६६

गज़ल

थोरै रीस मिसाएर,धेरै माया दिउँला सानु ।।
दु:ख-सुख मिसाएर,आधी-आधी जिउँला सानु।।


धर्ती हाम्रो बराबरी, आफै बोक्छु आकाश सारा
घाम-छाँया मिसाएर,आधी-आधी लिउँला सानु ।।


भोको-पेट सधैंभरी , तिम्रो मेरो जीवन कथा
आँशु-हाँसो मिसाएर,आधी-आधी पिउँला सानु ।।


थोत्रो भयो जग हाम्रो, टालौं अब मनको वस्ती
सियो-धागो मिसाएर,आधी-आधी सिउँला सानु ।।




१९/१२/२०६६
बिहिबार

कविता

आधी-आकाशको गीत


तिम्रो मुस्कान
धर्म शास्त्रको
अध्यायभित्र,
थोरै....
अझै कैद छंदैछ l

सोकेसभित्रको नारी खुशी !!!

एक पाईलाअघि
बढेर उचालिएका
गोडाहरु,,,,,
सामाजको
अन्धो संस्कारले
अझै अल्झाएकै छन l

स्वतन्त्रभित्रको बन्दी सन्सार !!!

पतिभक्ति,
ब्रतमा उपासिएर
गोडा धुएको पानीले
पाप-मोक्ष गर्दापनि
अझै,,,
कानुनले
तिम्रो अधिकार
किताबको पानाभित्रै
सिउरेर राख्दैछ l

कानुनले सेपिएको नारी स्वतन्त्र !!!


बंसज नखुलेको
तिम्रो सन्तानको
वैयक्तिक अधिकार
अदालतको ठेलीले
अझै थिचेको छ l

अन्धो कानुनको मानव आधिकार !!!

अन्धकार च्यासलभित्र
धिपधिपे बत्ती हेर्ने
तिम्रो आँखाहरुमा
अझै,,,
धार्मिक अश्रुग्यांसहरु
छरीदैछन l

धर्मनिरपेक्षको कालो पट्टी !!!

विश्वतिर फर्किएर
नारी इतिहास हेर्ने,
तिम्रो आँखामा,
गान्धारी पट्टी
बाँधीएकै छ l
किनकि.
यो जगको
तिम्रो धृतराष्ट्र
स्वयं;
अझै अन्धो छ l

चेतनाको पर्दाभित्रै पुरुष आँखा !!!


नारी तिमी !
अश्मिता
जोगाउन मात्र होइन,
अब
यो धर्ति जगाउनु पर्छ,
निदाएकालाई मात्र
होइन,,,,,,,
धर्मको च्यादरले
लपेटिएका,,,,
अर्धचेतनको बिषले
लट्ठीएका,,,,,,,
सबै नारीहरुलाई
झकझकाउनु पर्छ l

बिहानीको शङ्ख उत्घोष !!!

तिम्रो जवानी
लिलाम गरेर,
चौकोस भित्र
सजाउने
त्यो,
शास्त्र माथी
तिमीले
पाईला टेक्नै पर्छ,
चेतनाको मसाल बालेर
जलाउने पर्छ l

अधिकारको नौ किल्ला बोध !!!

धर्ती र आकाशको
स्वरूप होइन,
अब
नारी.....
धर्ती चिर्ने चट्यांग
अनि,
आकाश छिचोल्ने
मिसाईल बन्नु पर्छ l

संसार उचाल्ने नारी हुंकार !!!





सम्पूर्ण नारीहरु प्रतिको हक र आधिकारको लागि समर्पित !!!




8th March 2010

Tuesday, February 9, 2010

कविता

हरेकको अन्तर आत्मबाट हिटलर भएर जन्मिनेछु,,,,

भोक र शोकको सन्तापमा
कहिले सम्म उभ्याउछौ ?
उभ्याउ,,,,मलाई आकाश खस्दा सम्म
उभ्याउ,,,,मलाई धर्ति फाट्दा सम्म
किन कि,
मेरा पुर्खाले हिम्मत हार्न जानेन,
हरेसका धर्सा गनेन निधारमा,,,,
नारीवादको नाराले ढाँट,,सारीवादको पाराले थिच
म बेत्ताल भएर यो ब्रमाण्डमा उत्रिनेछु,
त्यसैले,,,,,,चाहे मलाई,
फेरी भोकले मार,,,मलाई शोकको रोगले मार,
तर म एकदिन हरेकको अन्तर आत्मबाट अजिब भएर जन्मिनेछु/

हो,म रुकुम रोल्पा र दोरम्भामा,
रगतको खोला बगेर मर्दिन,
हो, ठाकुरद्वार र गोदावरीमा
सौहार्दको फूल भएर सर्दीन,
काला कर्तुतहरुलाई सेता पर्दाले
छोप कत्ति छोप्छौ,,,,,,,,,???
कुनै दिन आँधी बनेर आउनेछु,,
त्यत्तिखेर,तिम्रो अस्तित्व उदांगो हुनेछ,
त्यसैले,,,,चाहे मलाई,
फेरी भोकले मार,,,,मलाई शोकको रोगले मार,,,,
तर म एकदिन हरेकको अन्तर आत्मबाट सुल भएर उठ्नेछु/

बर्षौं मनको एकाकार तृष्णाको लागि
मैले अग्रखमा त्यसै हात हालेको होइन,
ढालेर,,रहरको मूल खाँबो हाल्ने हिम्मत बटुल्दैछु/
ठोक मलाई,दरबार भित्रै,,तरवारले छीनाउ
घरबार उडाइदेउ,,सरकार,,बिथोलदेउ,,
मलाई बोलीले किन,,गोलीले हान,,
अख्तियारको बनावटी कानुनले बान,
छिनाल्न चाहन्छु, युगौको लागि,
त्यसैले,,,चाहे मलाई,
फेरी भोकले मार,,,,,मलाई शोकको रोगले मार,,,,
तर म एकदिन हरेकको अन्तर आत्मबाट बज्र भएर निस्किनेछु/

कित्ता कित्ता काटेर छुट्टयाउ,,
मलाई बित्ता बित्ता मनको जाँचेर,,,
लोकतन्त्रको लाइसेन्समा संबिधानको भोट हाल्न लगाउ,
निर्धारित मिती सार्दै जनताको आशामा चोट देऊ,
बस्ती बस्तीमा समावेशीका गस्तीहरुलाई ओत देऊ
जेनेभाको यात्रामा फेरी एक पटक अस्तित्वमा खोट देऊ,
आस्थाका फूलहरु कुल्च,,,चाहे स्वच्छ बिचारका मूलहरु थुन,
तिम्रा झुटा प्रतिबद्दताहरुलाई प्राकृतिक हत्या गर्नुछ,
त्यसैले,,,चाहे मलाई,
फेरी भोकले मार,,,,,,मलाई शोकको रोगले मार,,,,,,
तर म एकदिन हरेकको अन्तरआत्मबाट सुनामी भएर उर्लिनेछु/

पुगी नपुगी मन्त्रालयको बल लगाउ,
पुरानै कानुनको ठेलीको गल लगाउ,
अनुकुल मिल्दा सिंहदरबार र बालुवाटार छीर,
प्रतिकुल हुदा बिशुद्ध नेताको बिल्ला भीर,
पाए सम्म त्यहाँ भ्रष्टाचार गर, नपाए पछी पार्टीमा शिष्टाचार गर,
बेला बेलामा बस्ती भित्र पसेर सम्मानको दृष्टिगोचर गर,
कहिले थोमस अडिसन बनेर कालो कानुनलाई सेतो मान,
कहिले गुग्लेल्मो मर्कोनी बनेर छिट्टै संबिधान बनिसक्यो भन,
तिम्रो मखुण्डोरुपी बुख्याँचालाई यो राज्यमा ध्वस्त गर्नुछ,
त्यसैले,,,चाहे मलाई,
फेरी भोकले मार,,,मलाई शोकको रोगले मार,,,
तर म एकदिन हरेकको अन्तरआत्मबाट हिटलर भएर जन्मिनेछु/


१८ माघ २०६६
सामबार

गज़ल

नछुटिने एउटा नाता

नछुटिने एउटा नाता,जोड्नु थियो तिमीसंगै

नटुंगिने एउटा यात्रा, मोड्नु थियो तिमीसंगै//


चाहिदैन मलाई यहाँ,घोच्ने काँडा गुलाफको,

अजम्मरी एउटा फूल, गोड्नु थियो तिमीसंगै//


जूनी-जूनी अधर गाँसी,जिन्दगीको उकालोमा,

दु:खका यी पहराहरु, फोड्नु थियो तिमीसंगै//


खुरा फ़ाती गर्ने गरुन, मात्र साथ पाए तिम्रो,

समाजको बन्धनसबै, तोड्नु थियो तिमीसंगै//

कविता

अक्षरको बिउ छर्नुछ

बिगत देखि वर्तमान सम्म
यो रुखो ओइलानी बारीमा
जीवनले फड्को मारे पनि
अब सबै पाटोहरुमा,
नयाँ उन्नत जातको बिउ
छरेर युग युगलाई पुग्ने
दिमागी अनाज उत्पादन गर्नुछ,
यहाँ सग्लो अर्थका युरिया हालेर
विचारका रसिला दानहरु फलाउनु छ /

सृजनाका गराहरुमा
अचेंतनका सबै बाँझो पल्टाएर,
उन्नत बिचारका रोपाई गर्नुछ/
त्यसका लागि सबै,,,,
लाठे हली मात्र होइन,रोपारहरु पनि
मनको बारी डिलमा निस्केर,
जिवनका उत्कर्ष याम केलाउदै
अथक जाँगर बोकेर,,,,,,,,,,,
यहाँ कलमको अनौ र अक्षरको
बिउ हात हातमा लिएर जुर्मुराउनुछ/

एकचोटी चट्यांग परेर
दिन उघ्रिदै गएकोछ,
यतिखेर एउटा आयाम छ,
धर्तीमा निर्भिक चेतना,
अनि उज्यालो चिन्तनको ,
राम्रो खेती मौलाउने
दरिलो आयाम,,,,,
अब झरी परे पनि
तिक्त सोचका खहरेहरु
उर्लिनु हुदैन, यहाँ,,,,
इतिहास डुब्ने भंगालो पर्नु हुदैन/
हिजो सम्म जो संग अन्जान
पथ भए पनि आजबाट
छर्लंग सभ्यताको बिम्ब देखिने
नयाँ गोरेटोको सुरुवात गर्नुछ/

हत्केलामा कलमका ठेलाहरु बोकेर
मुरी मुरी साहित्य आर्जन गर्नुछ,
आफ्नै जगतको कन्तुरमा, इज्जतका
असर्फी पोल्टो भरि बोकेर भोलि
नयाँ पुस्ताको इतिहास,,,,,,,,,
विश्वका लिखित हस्तीहरुको,
नाम बोलाउने भिजिटिंग रुम सम्म पुग्ने,
एउटा सिल्क रोड तयार गर्नुछ/

Tuesday, January 26, 2010

कविता

घामको चाहा

पुषको महिना भए पनि
घामको ताप मिठो छ,
घाम र पानीको अनुपन स्वाद लिन
हप्ता भरिका थकाइका भारी बिसाएर
मेरा लागि बिरन्तरी मान्छेको हूल
मृतसागरको चिसो पानीमा डुबुल्की मार्दै,
एकआपसमा प्रेम साटासाट गरिरहेको दृश्यले
म खिन्न भएर टोलाउदै बस्छु......
सोच्छु, मेरो मातृभूमिमा मात्र
किन टुक्रा टुक्रा बादलका झुप्पाहरू
घाम उदाउने क्षितिजमा छरिएर
सूर्यकिरणलाई छेक्दैछन् ?
बल्ल बल्ल निस्केको लालीमालाई
पात झरेका सिक्रे रुखको छेलले
मेरो आँगनमा घाम लाग्दैन /
चिसो सिकुवामा कठंग्रिनुको पिडाले
लखेटिएको म, यो भूमध्यको अनकन्टारमा
न्यानो पहार ताप्दैछु, क्षणिक आनन्द,,
समुद्रको पानीले कल्पनाको प्यास मेट्दैछु
टुक्रे बादलहरु फाटेर खुला आकाश भई दिए
जहाँबाट पनि मेरो सगरमाथा देखिन्थ्यो/
यतिखेर विश्वशिखरको चुचुरो
उहि बादलले छेकेको छ,
देखिन्छ तर धमिलो आकृतिमा..........
समुद्री तटको एक कुनामा घोरिदैछु,
लाग्छ, यस्तै पहारिलो घामको राप
मेरो चौकोस र बार्दली सम्म भए
बिस्तारै घरभित्र न्यानो हुन्थ्यो होला/
यस्तै रापिलो पहार पाए फुटेकै गमलाका
सबै फूल फुल्थे होलान,,,,,,!
न्यानो नपाएरै कति फूलहरुमा
परागसेचन नभई थाती रहेका छन्
कत्ति फूलहरु फोटोसेन्थेसिस हुन नसकेर
रुखिएर मरे, कति पात झरेर नयाँ
पलाउन सकिरहेका छैनन्,,
आगोको रापले जसरी बिरुवा मर्छ,
त्यसको ठिक बिपरित...
सूर्यको ताप नपाउदा पनि त बिरुवा मर्छ/
त्यसैले यो बेला मेरो धर्तिमा,,,,,,,,,
आगोको रापले कयौं सालका पालुवाहरु मरिरहेका छन्,
घामको ताप नपाएर उत्तिकै फूलका कोपिलाहरु झरिरहेका छन्/


०९/०१/२०१०
तेल-अविव, (मृतसागर किनार ) इजरायल

गीत

मेरो मनको ताल भरी...........


मेरो मनको ताल भरि, कल्पनाको पानी,
पौडि-रै'छ त्यहीं भित्र, मेरो जिन्दगानी ।।

खोला भई बग्छु भन्थें, पुग्न सागरमा,
तर म त अल्झिएछु, यतै बगरमा ।
पहिरो गयो जिवनबिच, धमीलियो पानी,
सोचे जस्तो सङ्लिएन,कहिले जिन्दगानी ।।
मेरो मनको ताल भरी.....
पौडि-रै'छ त्यहीं भित्र.....

साथी भाइले यही धर्तीमा,चुमी रै'छन आकाश,
आफ्नो त तुवाँलोले, छेकिदिन्छ प्रकाश ।
मनको शीत जमेर नै हिउं भयो पानी,
कल्पना मै बग्ने भयो, सधैं जिन्दगानी ।।

मेरो मनको ताल भरी,कल्पनाकोपानी,
पौडि-रै'छ त्यही भित्र, मेरो जिन्दगानी ।।




२० जनवरी २०१०
बुधबार

गीत

जिन्दगीमा घरी घरी.........

जिन्दगीमा घरी घरी, ठेस लाग्दा खेरि,

एकान्तमा रुन्छु एक्लै,मनको ऐना हेरी//



कहिले सम्म जल्दै मैले, शीतको थोपा पिउने,

आउदैन कि दिन पनि, पहार तापी जिउने /

जीवनको आधा दिनमै, रात पर्दा खेरी,

एकान्तमा रुन्छु एक्लै,मनको ऐना हेरी/



अनिकालको बर्षा झारी,आफै बज्र खस्छौ,

मलाई दुख्दा तिमी चाहिँ,हाँसी हाँसी बस्छौ/

बिपत्तिको हुरी कहिल्यै, नरोकिदा खेरी,

एकान्तमा रुन्छु एक्लै,मनको ऐना हेरी/



जिन्दगीमा घरी घरी, ठेस लाग्दा खेरि,

एकान्तमा रुन्छु एक्लै,मनको ऐना हेरी//




१७ जनवरी २०१०
शनिबार