Tuesday, January 19, 2010

कविता

खोज

जिसस क्राइस्टको छातीमा
टेकेर बुद्धको अहिंसा खोजिरहेकोछु
उनकै हातको औंलाहरुले-
हत्केलामा भाग्य रेखा कोरीरहेकोछु
अभावको झोला बोकेर
उनकै बांसघारी र करेसाबारीमा
मनको डल्ला फोरीरहेकोछु /

आफ्नै घार भित्र बलेको
रङगीबिरङगी राजनीतिका
लप्काले पिल्सिएको
एक मुठी परान जोगाउदै
आफ्नो सन्तानको
सुनौलो भबिष्य
निर्माणको औजारलाई
अब्राहमको खोकिलामा खोजिरहेकोछु /

आकाश छिचोल्ने रहरहरु बोकेर
आफ्नो धरातलबाट
बिछोडको अथाह पीडामा
निस्सासिदै म
कोहि पराईको आंखामा
आफन्त हेरिरहेकोछु
मनको बांध भत्केर
आंखाको मैदानमा
जलमग्न हुँदै म
फेरि मासाढाको सतहमै
मेरो सगरमाथा खोजिरहेकोछु /

बिपन्नताको पिढींबाट जुरुक्क उठेर
म आफ्नो योग्यताको लट्ठी टेक्दै
रित्तो अर्थको झोला बिसाएर
सम्पन्नताको दलानमा
जदौको हात पसार्दै
सौभाग्यको आशीष थापिरहेकोछु
सर्लक्क हिमाली बैंशे मातृभूमिको ,
न्यानो काख छोडेर, निस्ठुरी मनको दासी भै -
फेरी मृतसागरको पानीले,
कोशी र मेचीको प्यास मेटिरहेकोछु/



१२ डिसेम्बर २००९
शनिबार

1 comment:

  1. hajur ka sabai lekh rachana git kabita padne mauka paya ramro lagyo pargatiko kamana !!!!!!!!!!!!shyangjali@yahoo.com

    ReplyDelete